तामाङ भाषाको कार्यक्रम 'हयाङला काई' (हाम्रो आवाज) हप्तामा एकपटक आइतवारको दिन दिउँसो १२:१५ देखि १:०० बजेसम्म हेटौडा एफ.एम.९६.६ मेगाहर्जमा प्रसारण हुने कार्यक्रम हो । नेपालमै सवैभन्दा वढी तामाङ जातिको बसोवास रहेको मकवानपुर जिल्लामा रहेका तामाङ जाति सँग सम्वन्धित 'हृयाङला काई' कार्यक्रमले प्रसारणको शुरुवात देखि नै तामाङ भाषा, संस्कृति एवं चेतनागत कुराहरु तामाङ भाषामै प्रसारण गरी सिंगो तामाङ समाजलाई जगजग्याउदै आइरहेको छ ।
२०६३ बैशाख अन्तिम आइतवार देखि शुरु भएको यस हृयाङला काई तामाङ समुदायको मनमष्तिष्कमा रहन सफल भएको छ । धर्म संस्कृति र रिमठीमका कुराहरु मात्र नभएर यस कार्यक्रममा मकवानपुर जिल्ला भरका प्रतिभावान तामाङहरुलाई अतिथिका रुपमा उभ्याएर आम श्रोतामाझ परिचित गराउने वातावरण सिर्जना गर्दै आएको छ । वालक देखि बृद्धा सम्मकालाई समेटदै आएको यस कार्यक्रमले युवा पुस्तालाई सजगता गराउने नौलो चेतनागत कुराहरुको साथै माया-प्रेमका कुराहरुको समेत चर्चा परिचर्चा गर्दै आइरहेको छ । तामाङ समुदायलाई शतप्रतिशत चेतनागत कुराहरु दिएर प्रसारणको छोटो अवधिमै सबै तामाङ जातिमाझ ढुकढुकी बन्न सफल भएको छ । यस 'हृयाङला काई' तामाङ भाषि कार्यक्रमका मुख्य प्रस्तोता रेडियो पत्रकार सुश्री पूर्णिमा गोले रहनु भएको छ ।
सवै तामाङ जातिलाई सही सुचना र समाचारहरु सम्प्रेषण गरी मनोरञ्जनात्मक ढंगले तामाङ जातिको भाषिक, साँस्कृतिक साथै राजनैतिक कुराहरुलाई समेत उठान गर्दै आएको हेटौडा एफ.एम.९६.६ मेगाहर्ज अर्न्तगत प्रसारित साप्ताहिक तामाङ भाषाको यस कार्यक्रम 'हृयाङला काई ले २०६४ बैशाख १ गते देखि भने 'तामाङ ग्योइला हेटौडा डायरी' (तामाङ भाषाको हेटौडा डाइरी) नामक छुट्टै स्तम्भ थपेर प्रत्येक दिन दिउँसो १:००-१:१५ वजे (१५ मिनेटको) तामाङ भाषामै समाचार दैनिक रुपमा प्रसारण गर्दै आइरहेको छ । दैनिक १५ मिनेटको तामाङ भाषाको समाचार वाचन पूर्णिमा गोले र हिरालाल स्याङतानले सञ्चालन गर्दै आउनुभएको छ ।
यो कार्यक्रम सञ्चालन भएपछि मकवानपुरका अधिकांश तामाङहरुले तामाङ भाषामा प्रसारित समाचारहरु बडो महत्वका साथ दिनहुँ सुन्ने गरेको छ । तामाङ भाषामै समाचार सुन्न पाउँदा तामाङ भाषाको महत्व बढ्नुको साथै तामाङ भाषाको राम्रो संरक्षण समेत भएको नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरको अध्यक्ष बुद्ध लामा बताउनुहुन्छ ।