CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
bikram dong tamang, tamang photo
Bikram Dong Tamnag
तामाङ चलचित्र बजार-विक्रम दोङ तामाङ
खासै तामाङ चलचित्र निर्माण कार्य शुरु गरेको इतिहास त्यति लामो भने भएको छैन । देशमा बहुदलिय व्यवस्था स्थापना भएपछि जनजातिहरुले आ-आफ्नो भाषामा आ-आफ्नै संस्कृतिहरुलाई समेटेर चलचित्र निर्माण कार्य शुरु गरेको थियो । त्यहि जनजातिहरुको भिडभाँडमा वि.स. २०५३ सालमा जयनन्द लामाले 'सेमरी छोरङान' नामको तामाङ भाषाको चलचित्र बनाएर त्यही चलचित्र मार्फत आफ्नो संस्कृति र चेलिवेटी बेचविखन विषयको आवाजलाई पर्दामा उतारिएको थियो । 'सेमरी छोरङान' पहिलो तामाङ भाषाको चलचित्र हो । यसरी सरसर्ती हेर्दा तामाङ चलचित्र निर्माण कार्य शुरु भएको तेह्र वर्षपनि पुरा भएको छैन । तर तामाङ चलचित्रको संख्या भने दुई दर्जन पुगिसकेको छ । यो अरु जनजातिहरुको तुलनामा अगाडि हो । यसमा एकातिर संख्यात्मक प्रगति भएको खुशीकै कुरा हो । गुणस्तरियतालाई हेर्दा भने हाम्रा तामाङ चलचित्रहरुको स्थिति लाजमर्दो छ । किनकी यो लाज मर्दो हुनुको कारण नामको लागि मात्रै फिल्म बनाउने लहर बढ्नुले गर्दा हो ।

समय पहिलेको जस्तो छैन । नेपाली चलचित्रकै अवस्थालाई हेर्दा ती चलचित्रहरुले १०० औं दिन ५१ औं दिन मनाउने गर्दछन् । तर अहिले त्यो अवस्था छैन । मुस्किलले मात्रै कतिपय फिल्महरु सफल भएको देख्न पाइन्छ ।

वास्तविक रुपमा जुन चलचित्र अर्न्तराष्ट्रिय स्तरको दाँजोमा होस जहाँ नयाँ कथा होस् मनोरञ्जन पनि होस र हरेक दृष्टिकोणले सफल रुपमा भरिपूर्ण होस, निर्देशन, अभिनय, गीत संगीतका साथै सबै विधामा । हामी यो विचारलाई चाँडै अस्वीकार गर्र्छौ किनकि हामीसँग लगानी गर्नलाई पर्याप्त स्रोत छैन । तर आजका दर्शकले यो बुझ्दैनन कि उनीहरु मन लागे हेर्छन मन नलागे हेर्दैनन् । यहाँ अहिले तामाङ चलचित्रको वास्तविकता यस्तै हो ।

अब तामाङ चलचित्र कै कुरा गर्नु पर्दा अधिकांश फिल्म निर्देशक तथा कथाकारहरु आफ्नै तालमा कथा कोर्छन्, संवाद एवं पटकथा तयार पार्छन । फिल्मको स्क्रीप्ट लिएर निर्माताको खोजिमा लाग्छन् । आफ्नो चलचित्र अर्न्तराष्ट्रिय स्तरको चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने फाङफुङ देखाउछन् र विना तयारीमा नै एक दुई लाखे निर्मातासँग सम्झौता गरी शुरु गरिहाल्छन् । तामाङ समाजमा पैसा वालाहरु चलचित्र निर्माणतिर हमेसा लाग्दैनन् । किनकि उनीहरुलाई पैसा वाहेक अरु कुनैको मतलब हुदैन नत्र भने ऐतिहासिक र गुणस्तरिय तामाङ चलचित्रहरु उनीहरु मार्फत बन्नेमा धेरै सम्भावना हुन्थ्यो । यहाँ कम लगानीका फिल्महरु फस्टाएका छन् । बिना ज्ञान र बिना तयारी नै जो पायो त्यही कलाकारहरुलाई खेलाउँछन् । यसरी निर्माण भएको तामाङ चलचित्रहरु कति समय पछि दर्शक सामु उतार्न सकिन्छ त्यो डेट भने फिक्स हुदैन किनकी एउटा चलचित्र पूरा रुपमा तयार भइसक्दा १/२ लाख निर्माताहरु, ३/४ जना सम्मको हुने हुँदा कोही प्रस्तुतिको रुपमा, कोही निर्माताको रुपमा भने कोही सह-निर्माताको रुपमा । आजका हरेक तामाङ चलचित्रका दर्शकले सोझै अनुमान गर्न सक्ने मात्र होइन जवाफ दिन पनि तयार हुन्न भन्न सकिन्न । यो वास्तविकतालाई यहाँ उतार्दा आफ्नै खुट्टामा आफैले बन्चरोले हाने जस्तो महशुस भएपनि यो प्रेरणा बन्न सक्छ । अबका सिनेकर्मीहरुमाँझ किनकी औषधी त खानु पर्ने नै हुन्छ, निको हुने मन त सबैको हुन्छ नै । यसरी नै अझै पनि तामाङ चलचित्रको निर्माण कार्य निरन्तर चलि नै रह्यो भने संख्या १०१ पुगोस तर राष्ट्रिय, अर्न्तराष्ट्रिय रुपमा कहिल्यै प्रतिस्पर्धा गर्न सकिदैन । लगानी थोरै भएपनि लगानी अनुसार नै पूर्व तयारीका साथ हरेक दृष्टिकोणले सफल रुपमा आफ्नो चलचित्र दर्शक सामु उतार्न सकेमा सफल हुन्छ नै ।

गएको महिना मात्र आदिवासी चलचित्र महोत्सव -२०६४ धुमधामका साथ सम्पन्न भयो । गुरुङ भाषाको चलचित्र 'कृपा' ले सर्वोकृष्ट चलचित्रको अवार्ड हात पार्दै महोत्सव पनि सकियो । त्यस आदिवासी चलचित्र महोत्सवमा तामाङ भाषाको एउटा चलचित्र 'मोलम' प्रदर्शन भएको थियो अथवा प्रतिस्पर्धामा उतारिएको थियो । तामाङ चलचित्र 'मोलम' कुनैपनि विधामा उत्कृष्ट नभएर हात खाली घर फर्किएको थियो । यसरी लाजपूर्ण फर्किनुका कारण यही हो जुन 'मोलम' चलचित्रलाई सिधै आफू खुशी अरु चलचित्रकर्मीहरुको विना सल्लाह प्रदर्शन भइसकेका चलचित्रहरु सँग प्रतिस्पर्धा नगरिकन नै आदिवासी चलचित्र महेत्सवमा उतारेको थियो । यसो हुनको मुल कारण नेपाल आदिवासी चलचित्र महासंघमा उक्त मोलम फिल्मका प्रमुख निर्माता त्यस महासंघको कोषध्यक्ष हुनुले हो भन्न सकिन्छ । यो सरासर प्रदर्शन भइसकेको चलचित्रहरु माथि मोलम एउटाले गरेको दुर्व्यवहार हो भन्न सकिन्छ । यो लाजपूर्ण परिणाम भनेको 'मोलम' ले मात्र हैन भोलि अर्को चलचित्र उत्रेला त्यो चलचित्रले पनि उही परिणाम भोग्न नपरोस भन्नको लागि बुझनु पर्दछ । यहाँ 'मोलम' चलचित्रलाई नराम्रो चलचित्र भन्न खोजेको भने पक्कै होइन किनभने चलचित्र सफल असफल त हुन्छ नै तर अहिले तामाङ अन्धा सिनेकर्मी वीचमा विवादको विषय भनेको यो एउटा मुख्य कारण हो । मेरो चलचित्र प्रदर्शन गरेको भए कुनै अवार्ड हात पर्थ्यो कि भन्ने निर्माताहरु धेरै भेटिन्छन् । अब हाम्रै भाषामा प्रदर्शन भइसकेका चलचित्रहरुको पहिले प्रतिस्पर्धा गर्नु पर्दछ र जुन चलचित्र उत्कृष्ट सावित हुन्छ त्यही चलचित्र आदिवासी चलचित्र महोत्सवमा मात्रै होइन अन्य हरेक महोत्सवमा खुशीका साथ प्रतिस्पर्धामा उतारिनु पर्दछ । यो वास्तविक र यथार्थ हो, यसलाई सहर्ष सबैले स्वीकार्नु पर्दछ ।

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com