घात लाग्दो कथा बस्तु नभएको तामाङ फिल्म दुनियाँमा केवल मनोरञ्जनको लागि मात्र फिल्म बनाउने क्रम हिजो आज झनै बढेको छ । फिल्म शिक्षामुलक हुनुपर्दछ भन्ने थाहा भएर पनि त्यस्ता खालका फिल्म बन्न नसक्नुमा केवल निर्माता निर्देशक मात्रै नभएर पुरै तामाङ समाज दोषी छन भन्दा केहि फरक नपर्ला । गत मङसिर दोस्रो साता सञ्जय लामा बलको पछिल्लो निर्देशनमा बनेको तामाङ भाषाको चलचित्र 'आमाला माया' काभ्रेको भकुण्डे बेशीस्थित न्हाम्बुदा सिने प्रा.लि. हलमा प्रदर्शित भयो । जेनिश लामा दोङको कथावस्तु, पञ्च लामा ब्लोन, तेज गोले र सरोज दोङको मुख्य लगानी रहेको उक्त फिल्मको समिक्षा गर्ने अवसर सिनेम्हेन्दोलाई मिलेको थियो ।
'आमाला माया' अर्थात आमाको माया चलचित्रको टाइटल नाम औधि राम्रो छ । प्रारम्भिक चरणमा देखाइएको काष्टिङ र फिल्मभित्र भएका महत्वपूर्ण विषयहरुको उठानले 'आमाला माया' हेर्न वसेका जो कोहीलाई आकर्षित गर्दछ । प्राविधिक एवं छायाङ्कन एकदमै राम्रो छ । कथावस्तुले भन्न खोजेको कुरा नबुझेपनि कथावस्तु सलल बगेकोले दर्शकहरुलाई सन्तोष जाग्ने खालको देखिन्छ । रजनी घिसिङ, कर्साङ लामा सन्दिप स्याङतन, अमिर दोङ, सरोज दोङ तथा सञ्जय लामा बलको अभिनयले दर्शक दिर्घलाई प्रभावित बनाउँछ ।
नेपाली सिने जगतका चर्चित द्वन्द निर्देशक राम जनकको द्वन्दात्मक भूमिकालाई कमेन्ट गर्ने ठाउँ छैन । फाइट पक्ष सबैभन्दा राम्रो भएकोले ठूलो पर्दाको नेपाली चलचित्र एवं हिन्दी चलचित्र हेरे जस्तो आभास दर्शकहरुलाई हुन्छ ।
खलपात्रको भूमिका रहेको 'कक्कु' नामको सञ्जय लामा बलको प्रस्तुति पक्षले सिंगो फिल्म प्रति नै ध्यान केन्द्रित गराउँदछ । बालकहरुको शशक्त एक्शन शुरुदेखि अन्तिमसम्म हेर्न लायक छ । रामबाबु योञ्जन, योगिता मोक्तान, शशिकला मोक्तान, रोज मोक्तान आदि कलाकारहरुको कर्णप्रिय स्वर रहेको उक्त फिल्ममा संगीत विश्व दोङको रहेको छ ।
एउटा 'आमाला माया' अर्थात आमाको माया नपाएको बालकको वास्तविक चित्रणलाई झल्काउन खोजेको यस फिल्ममा एउटा वालकप्रति आमाको दायित्व र भूमिका कस्तो रहन्छ ? भन्ने सरल एवं वास्तविक कथाबस्तुलाई उठाएको देखिन्छ । विद्यमान तामाङ समाजमा 'आमाला माया' ले आमाको आर्शिवाद नलिएकाहरुलाई एउटा सजगताको बाटोमा अभ्रिप्रेरित गर्न र वास्तविक आमाको माया बुझने थप अवसर चलचित्र आमाला माया वाट पाउन सकिन्छ । तर आमाला मायालाई वास्तविक तामाङ समाज, माटो, जमीन र जललाई अङ्गीकार गरेर परिवर्तित जनचाहना एवं देशको वर्तमान परिस्थितिलाई समेत समेटिएको भए साँच्चिकै समय सान्दर्भिक हुने थियो ।